चोरीका मोटरसाइकल धनीलाई हस्तान्तरण


काठमाण्डु- महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पछिल्लो समयमा चाेरी भएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । मङ्गलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका २३ वटा मोटरसाइकल मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेका छन् । पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुनेखालका मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको पाइएको छ ।

युवापुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाइ महाशाखाको छ । हराएको सवारीसाधन फेला परेपछि सवारीधनी पनि खुसी भएका छन् । उनीहरूले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन् ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका चार सय १८ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement