काठमाण्डु – नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली प्रहरीको सम्पर्कमा आएकी छन् । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेस काफ्लेले उनी सम्पर्कमा रहेको पुष्टि गरेका हुन् ।
‘उहाँ सम्पर्कविहीन भएको समाचारहरु पढेँ । त्यसपछि उहाँलाई फोन गरेँ । मेरो फोन उठाउनु भयो,’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘मेरो घाँटीमा समस्या आएकोले म नेपालगञ्जस्थित अस्पतालमा आएको छु भनेर मलाई भन्नु भएको छ । हिजो पनि उहाँ संग कुरा भएको थियो’
अस्पतालबारे उनले नखुलाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ । पार्टीको आज हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।
माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।




प्रतिक्रिया