काठमाण्डु – लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि वलीले माअोवादी केन्द्र रोजेकी थिइन् ।
दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन् । उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन् ।
आज लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका थिए । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनका ४१ जना सांसदले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
आफूहरुसँग बुहमत रहेको दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । जसमा माअोवादी केन्द्रबाट सांसद वलीको समेत हस्ताक्षर प्रयाेग गरिएको थियो ।
लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका २०, कांग्रेसका १९ र जसपाका ६ जना, एमालेबाट ४१ जना सांसद र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन कूल ४४ सांसद आवश्यक पर्नेमा अहिले ४१ जनाको समर्थन छ ।
प्रतिक्रिया