बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले राजनीतिक प्रतिसोध सांधेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । सामाजिक संजाल फेसबुकमा बुधवार विज्ञप्ति जारी गर्दै उनले आफ्नो फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजिएको दावी गरेकी छन् ।
वाईसीएल कार्यकर्ता एकराज बस्नेतलाई उनले गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले त्यसको खण्डन गरेकी हुन । प्रदेश सांसद वली उनका श्रीमान उत्तर वलीको सड्क दुर्घटनामा निधन भएपछि उनको ठाउंमा नेकपाबाट निर्वाचित भएकी थिईन ।
वलीले लेखेकी छन् ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु । मेरो फोटो जोडेर आउंदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’
आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् ।
उनी एमालेबाट निर्वाचित भएपनि केही समय अघि मात्र उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिईन ।
उनकै कारण लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । ओलीमाथी माओवादी केन्द्रका नेताहरुबाट आर्थिक लाभ लिएको आरोप छ । तर, उनले त्यसलाई अस्विकार गर्दै आएकी छन् । उनले मुख्यमन्त्री कार्यालयमा आफुलाई एक हप्ता बन्धक बनाइएको आरोप समेत लगाएकी थिईन ।
वाइसीएल कार्यकर्ता बस्नेतले समेत आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको दावी गरेका छन् ।




प्रतिक्रिया