बिमस्टेक सम्मेलन भदौमा गर्ने तयारी

बिमस्टेक सम्मेलन भदौमा गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा गर्न प्रस्ताव गर्ने भएको छ ।अाइतबार मन्त्रिपरिषद् बैठकले सम्मेलन भदौ १४ र १५ वा २१ र २२ गते काठमाडौंमा गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसमक्ष राख्ने निर्णय गरेको हो ।

बिमस्टेकका महासचिव सहिदुल इस्लाम तीन दिनअघि शिखर सम्मेलनका लागि पहल गर्न काठमाडौं आएका थिए । प्रधानमन्त्री केपी ओलीले जतिसक्दो छिटो बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने इस्लामलाई आश्वस्त पारेका थिए ।

नेपाल अहिले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सँगै बिमस्टेकको पनि अध्यक्ष हो । सार्क शिखर सम्मेलनपछि मात्र बिमस्टेक गर्ने तयारी नेपालको भए पनि भूकम्प र निर्वाचनलगायत कारण ढिलो गरी बिमस्टेक सम्मेलन आयोजना गर्न लागेको हो । बिमस्टेकलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढाउने विषयमा नेपालले आफ्नातर्फबाट तयारी गरिरहेको जनाइएको छ ।

डेढ अर्बभन्दा बढी जनसंख्या समेट्ने यो संगठन सन् १९९७ मा स्थापना भएको हो । यसमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । २०१४ मा म्यानमारमा तेस्रो सम्मेलन भएयता बिमस्टेकको अध्यक्षता नेपालले गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैको नेपाल भ्रमणमा सार्क सम्मेलनबारे कुरा हुँदा बिमस्टेकमा बढी जोड दिएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।