कांग्रेसले बहुमत ल्याउँछ र सरकार बनाउँछ : विमलेन्द्र निधि

कांग्रेसले बहुमत ल्याउँछ र सरकार बनाउँछ : विमलेन्द्र निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वउपसभापति तथा धनुषा–३का उम्मेदवार विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् ।

निधिले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका हुन् ।

‘अहिलेको अवस्था राम्रो छ, जनकपुरमा फागुन ६ गते भएको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ’ निधिले भने, ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा उmर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ।’

उनले अहिले नेपाली कांग्रेसमा देशभर एकता रहेको पनि दाबी गरे । ‘एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ । कांग्रेसको उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन् । यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ। र बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ।’

उनले आन्तरिक मतभेदहरूलाई आफैँले पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको बताए । ‘आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु,’ निधिले थपे।

उनले अहिले देशमा निर्वाचित सरकार नहुँदा डेमोक्रेसी फ्याक्चर्ड भएको र पोलिटिकल सिस्टम प्रेक्जर्ड भएको बताए । ‘अहिले देशमा निर्वाचित सरकार छैन। निर्वाचित संसद छैन। डेमोक्रेसी फ्याक्चर्ड भएको छ। पोलिटिकल सिस्टम प्रेक्जर्ड भएको छ।

संविधान ग्रिड भएको छ। अहिले नेपाली कांग्रेसले नै यसको सही उपचार दिन सक्छ भन्ने भावना छ। यो सकारात्मक आधार हो । जसको कारण नेपाली कांग्रेसलाई जिताउनु पर्छ भन्ने जनताको मत छ।’

नेता निधिले प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनका सवालमा काम गर्ने पनि बताए ।

‘अब हामीले आधुनिक प्रणालीलाई विकास गर्नु पर्छ। डिजिटल गभर्नेन्स सिस्टम अर्थात् ई–गभर्नेन्स सिस्टमलाई अघि बढाउनु पर्छ। यो सिस्टमले भ्रष्टाचारको न्यूनीकरण, पारदर्शिता र सुशासनको कुरा सम्बोधन हुन्छ। यो व्यवस्थालाई तीन वटै तह, स्थानीय, प्रादेशिक र संघीय तहमा लैजानु पर्छ,’ उनले भने।

उनले कांग्रेसले नै अहिलेसम्म जनताको अधिकारका लागि र विकासका लागि काम गरेको बताए ।

उनले भने, ‘प्रत्येक मानिसलाई दुई ओटा कुरा चाहिन्छ एउटा अधिकार अर्को विकास, यहाँको दुईवटै क्षेत्रमा बिपी कोइरालाको समयदेखि अहिलेसम्म त्यो कांग्रेसले नै गरेको छ। त्यसैले जसले काम गरेको छ, भोलिको दिनमा त्यसैले काम गर्न सक्छ भन्ने भरोसा राख्नु पर्दछ।’

निधिले नयाँ ड्राइभरले गाडीलाई जतिबेला पनि दुर्घटना गराउन सक्ने भन्दै नेपाली कांग्रेसका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरे।

‘जसले काम गरेर देखाएकै छैन, जसको कामको कुनै अनुभव नै छैन, त्यसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन। नयाँ ड्राइभरले त जतिबेला पनि दुर्घटना गराइदिन सक्छ। लिक भन्दा बाहिर लैजान सक्छ । त्यसकारण नेपाली कांग्रेसको रूख छापमा नै मत दिनुस् भनेर म मेरो क्षेत्रका र देशभरका मतदातालाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

उनले रूख छापलाई मत दिएर नेपाली कांग्रेसलाई विजयी गराए भोलिको नेपाललाई सुन्दर र शान्त नेपाल बनाउन सहयोग पुग्ने पनि बताए ।

‘नेपाललाई सुन्दर बनाउने, शान्त नेपाल बनाउने, बदला नलिने, अपराध नियन्त्रण गर्ने, सुशासन, समृद्धि र समावेशीतासहितको संघीय लोकतान्त्रिक प्रणालीलाई कार्यान्वयन गर्न सक्ने अवस्थाका लागि कांग्रेसको जित आवश्यक छ। नेपाली कांग्रेसले अरु दलहरूसँग निर्भर भएर सरकार बनायो भने उसले डेलिभरी नै दिन सक्दैन। त्यसकारण कांग्रेसको एकल बहुमत ल्याउने गरी मतदान गर्नुस भन्ने मेरो आग्रह हो’, निधिले थपे।

उनले राष्ट्रिय राजनीतिको एजेन्डामा संविधानलाई लिकमा ल्याउने, क्षतिग्रस्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल कार्यान्वयन गर्ने विषय मूल भएको बताए । त्यसका लागि निर्वाचित सरकार आवश्यक रहेको उनको भनाइ छ।

उनले जनकपुर धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण स्थान रहेको बताउँदै रामजानकी स्टेडियमलाई जतिसक्दो छिटो निर्माण गर्न लगाएर यहाँ स्पोट्र्स एकेडेमी संचालन गर्ने तर्फ पनि काम गर्नु पर्ने स्पष्ट पारे।