काठमाण्डु – पूर्वमन्त्री विना मगरले गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार आयोजित सभामा दिएको अभिव्यक्तिको आलोचना गर्दै कडा चेतावनी दिएकी हुन् ।
उनले प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वाँस दिएको भन्दै बादलको गर्जन क्षणिक हुने तर्क गरेकी छिन् । गृहमन्त्री थापाले शुक्रबार आयोजित ओली पक्षको सभालाई सम्बोधन गर्दै मांशहारी आन्दोलन गर्नेलाई चिडियाखाना लगेर थुन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ मगरले सामाजिक सञ्जालमार्फत बादललाई हेक्का राख्न भनेकी हुन् ।
उनले भनेकी छन्, ‘आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो । हिमपात, केही बर्षा, अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा, पारिलो घामको न्यानो खोजिनै रहयो । सन्दर्भ पनि क्या गजबको । आज बादल क्षितिजमा हैनकी, नारायणहिटी दरबार अगाडी गर्जिएछ । बादललाई बादल बनाउने धरातल माथि ब्याड्ंग्य कस्दै प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ । हेक्का रहोस, बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ । मौसम उघ्रिएसंगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ ।’
नेकपा विभाजनपछि पूर्व माओवादी बादल ओली समूहमा गएपछि उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।




प्रतिक्रिया