मुगु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ ।
निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन् ।
जिल्लामा विभिन्न ९ राजनीतिक दल र १ स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा बढी उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको प्रभाव खासै देखिएन ।
रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरिन् । आवश्यक मत ल्याउन नसक्दा उनको पनि जमानत जफत भएको छ ।
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेकपा माओवादीका विर्ख शाहीले ७१ मत पाए ।
नेपाल जनता पार्टीका रनील विक्रम शाहीले ४३ मत मात्र प्राप्त गरे । यी सबै उम्मेदवारहरूले कानुनी रूपमा आवश्यक मत ल्याउन नसकेपछि जमानत जफत भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले पनि न्यून मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ ।
निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनै पनि उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार उक्त प्रावधानका कारण ६ उम्मेदवारले जमानत गुमाएका हुन् ।
प्रतिनिधिसभा सदस्यतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जित हात पारेका छन् भने भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा जिल्लाभर करीब ५७ प्रतिशत मत खसेको छ । प्रत्यक्षतर्फ ४० हजार ८९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।
जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । चुनावी प्रतिस्पर्धा रोचक बने पनि अन्तत: मत परिणामले जुम्लामा राप्रपाको पकड बलियो रहेको देखाएको छ ।




प्रतिक्रिया