नवलपरासी – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ ।
कांग्रेसले नवलपरासी–१ मा विनोद चौधरीलाई उम्मेदवार बनाएको छ ।
सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचारप्रसार समिति’ गठन गरिएको छ ।
समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै घरदैलो अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उपसमितिहरू गठन गरिनेछ ।
उम्मेदवार विनोद चौधरीले विगत ३ वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ । ‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौं । हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले भने ।
कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद विश्वप्रेम पाठक, कांग्रेस कार्यबाहक सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले विनोद चौधरी जस्तो उम्मेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।
यसअघि २०७९ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यसपटक पुन: भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।




प्रतिक्रिया