काठमाडौं – चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले देशभर अभाव देखिएका परीक्षण किट, मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेटर जस्ता सामग्री चीनका सेन्जेन, ग्वान्जाओलगायत शहरमा तयार राखिए पनि ढुवानी असहजता देखिएको भन्दै विमान व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् ।
‘अबको समस्या पीपीईमात्रै होइन, उपचार सामग्रीको पनि हो। ती सामग्री चीनबाट ल्याउनका लागि विमान व्यवस्थापन गरिदिन सरकारी निकायसँगै हाम्रा मित्र, साझेदारहरूसँग नियमित सम्पर्कमा छौं,’ उनले भनेका छन् ।
अधिकांश सुरक्षा उपकरणहरू नेपालमा निर्माण नहुने भएकाले विदेशकै भर पर्नुपरेको उनले बताएका छन् ।
‘भारत आफैं कोरोनाविरुद्ध संघर्ष गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं,’ चौधरीले भनेका छन् ।
चौधरी फाउन्डेसनले कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्क वितरण कार्य बिहीबार पनि जारी राखेको छ ।
देशभर खटिएका फाउन्डेसनका टोलीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम (पश्चिम) जिल्ला अस्पताललाई पीपीई हस्तान्तरण गरेको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले बुधबार पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) मा सुरक्षा उपकरण वितरण गरेको थियो ।




प्रतिक्रिया