एमालेमा विद्या भण्डारीलाई अन्याय भयो : एमाले नेता ढकाल

एमालेमा विद्या भण्डारीलाई अन्याय भयो : एमाले नेता ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे ।

ढकालले ३७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भण्डारीलाई पार्टी राजनीतिक जीवनमा फर्किन चाहने अधिकारबाट बन्चित गर्न नहुने बताए । उनले आगामी महाधिवेशनले उक्त विषय सच्याउनुपर्ने धारणा राखे । भण्डारी राजनीतिक नेतृत्व र संघर्षको लामो इतिहास भएकाले उनलाई रोक्नु अन्याय भएको बताए ।

एमाले महाधिवेशन प्रतिनिधि समेत रहेका ढकालले पार्टीको ११‍औँ महाधिवेशन, नेतृत्व चयन, आन्तरिक राजनीति, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, हालको जेनेरेशन आन्दोलन तथा युवाहरूको विदेश पलायनसम्मका विषयमा फरक कोणबाट आफ्नो धारणा राख्नेक्रममा आगामी नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने बताए ।

ढकालका अनुसार एमाले हाल पूर्ण रूपमा ११‍औँ महाधिवेशनको तयारीमा केन्द्रित छ । नेतृत्व चयनको विषयमा पार्टीभित्र बहस भइरहेको उनले बताए । प्रतिनिधिहरू छानिसक्दा केही स्थानमा विवाद हुँदा पुनः निर्वाचन चलिरहेको उनले जानकारी दिए ।

नेतृत्व सहमतिबाट बन्ने कि प्रतिस्पर्धाबाट भन्ने विषय महाधिवेशनको हलमै टुंगिने उनले उल्लेख गरे । पार्टीभित्रको अहिलेको बहसलाई ‘गुटबन्दी’ भन्न गलत हुने भन्दै उनले यो स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताए ।

अध्यक्ष केपी ओली र उपाध्यक्ष ईश्वर पोखरेल दुवै नेतृत्वका आकांक्षी हुनु स्वाभाविक भएको भन्दै ढकालले सहमतिका प्रयास भइरहे पनि सहमति नजुटे प्रतिस्पर्धा अपरिहार्य हुने बताए ।

ओली तेस्रो कार्यकाल चाहने पक्षमा भएपनि पोखरेलले पनि आफ्नो स्वाभाविक दाबी राखेकाले महाधिवेशनमै निर्णय हुने उनले बताए । कार्यकर्ताहरू भने सहमतियुक्त नेतृत्व निर्माणमा जोड रहेको उनले बताए ।

हालको जेनजी आन्दोलनबारे ढकालले भदौ २३ र २४ गतेको घटनालाई छुट्टै दृष्टिले हेर्नुपर्ने बताए । पारदर्शिता, भ्रष्टाचारविरुद्ध तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा युवाले उठाएको मुद्दा सही भएपनि आन्दोलनमा घुसपैठ, राज्यको अत्यधिक दमन गलत भएको टिप्पणी गरे । भदौ २४ गतेको अराजक घटनालाई उनले ‘लोकतन्त्रलाई चुनौती दिने तथा राज्यसत्ता उल्ट्याउने प्रयास’ भनेर वर्णन गरेका छन् ।

युवाहरू विदेशिने बढ्दो प्रवृत्तिबारे टिप्पणी गर्दै ढकालले यो विश्वव्यापी ट्रेन्ड भएको बताए । गरिबी वा अवसर अभाव मात्र होइन, रुचि, जीवनशैली र आकाक्षाले पनि युवाहरू विदेशिने गरेको उनको विश्लेषण छ ।

भारत, बंगलादेश, श्रीलंका, जापान, इन्डोनेसिया लगायतका मुलुकबाट पनि ठूलो संख्यामा मानिस विदेश जाने गरेको उदाहरण दिँदै उनले नेपालमात्रै समस्याग्रस्त देशजस्तो चित्रण गर्नु गलत भएको बताए ।

जेनजीले उठाएका प्रश्नहरूलाई सकारात्मक चुनौतीका रूपमा लिनुपर्ने बताउँदै उनले दलहरू, मिडिया र समाजले नकारात्मकता मात्र फैलाउने प्रवृत्तिको पनि आलोचना गरे ।