बर्खाको जोखिममा सवारीसाधन सञ्चालनमा रोक लगाउनेबारे गृह मन्त्रालयलाई अनुरोध

बर्खाको जोखिममा सवारीसाधन सञ्चालनमा रोक लगाउनेबारे गृह मन्त्रालयलाई अनुरोध


काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खाको जोखिममा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकताअनुसार रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको सोमबार बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबान समेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोलानाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारीसाधनमा रोक लगाउन अनुरोध गरिएको छ ।

सडक/राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अवरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।