काठमाण्डु- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आफ्ना माग पुरा गर्न सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् । प्रतिष्ठान सुधारका विभिन्न ६ बुँदे मागहरू राख्दै आइरहेका संयुक्त संघर्ष समितिले माग पुरा नभए फेरी आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
७ दिनभित्र ती मागहरू पुरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लगायत सबैले आफ्नो नियमित काम गर्न असमर्थ हुने जनाएका छन् । सरकार र आन्दोलनकारीबीच ६ बुँदे सहमति भएको २४ दिन बितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
आन्दोलनरत पक्षको ६ बुँदे माग
१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गरियोस् ।
२. प्रधानमन्त्री र प्रा. डा. गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस् ।
३. बैकुण्ठ अर्याल नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटीको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस्।
४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधिको अध्ययन प्रतिवेदन तुरून्त सार्वजनिक गरियोस् ।
५. पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तिमा २ जना प्राध्यापकहरू संलग्न गरियोस् । सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरूको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस् ।
६. उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाइयोस् ।




प्रतिक्रिया