हमासले विपिन जोशीको शव इजरायललाई बुझायो

हमासले विपिन जोशीको शव इजरायललाई बुझायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ।

सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित ४ जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो।

विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ।

फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।

अब हमासले २४ जना मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ।

नेपालका विपिन जोशी इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि शिक्षार्थीका रूपमा त्यहाँ गएका थिए । २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि उनी बेपत्ता भएका थिए । इजरायलले उनको अवस्थाबारे अहिलेसम्म औपचारिक पुष्टि नगरे पनि गम्भीर चिन्ता व्यक्त गरेको थियो ।

विपिनसँगै शव हस्तान्तरणमा पर्ने गाइ इलाउजलाई नोभा संगीत उत्सवबाट हमासले अपहरण गरेको थियो । उनलाई गाजाको अस्पतालमा उपचार नपाएर मृत्यु भएको बताइएको छ । उनको मृत्यु २०२३ डिसेम्बरमै पुष्टि भएको थियो ।

हमास र इजरायलबीच २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्व अन्त्यका लागि सुरु गरिएको मिडल इस्ट पिस प्लान अन्तर्गतकै पहिलो चरणमा शव हस्तान्तरण प्रक्रिया अघि बढ्न लागेको छ ।

यसैबीच, नेपाल सरकारले विपिन जोशीको अवस्थाबारे थप जानकारीका लागि इजरायली अधिकारी र अन्तर्राष्ट्रिय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।