काठमाण्डु – हमासले २ वर्षअघि इजरायलबाट अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै २ वर्षअघि नै हत्या भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टअनुसार उनको प्राकृतिक मृत्यु नभई सन् २०२३ अन्त्यतिर हत्या गरिएको पुष्टि गरिएको छ ।
हमासको नियन्त्रणबाट अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणबाट विपिनको पहिचान पुष्टि गर्दै इजरायलले भनेको छ, ‘शव परीक्षणका क्रममा विपिन जोशीकै हो भन्ने पुष्टि भएको छ ।’
डीएनए रिपोर्ट र शव अब इजरायलले नेपाल सरकारको जिम्मा लगाउनेछ । आधिकारिक रिपोर्ट नेपाल सरकारलाई प्राप्त नभएकाले सरकारले यसबारे आधिकारिक जानकारी दिएको छैन ।
कञ्चनपुरका विपिन जोशी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कामका सिलसिलामा इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनाइएका थिए । हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।




प्रतिक्रिया