ओली र प्रचण्डको घरमा पक्राउ पूर्जी टाँस्ने विप्लवको चेतावनी


काठमाडौं– नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएको छ।

जिल्ला अदालतको आदेशमा ५ माघमा भोजपुर प्रहरीले विप्लवका नाममा पक्राउ पूर्जी जारी गरेपछि नेकपाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।

विप्लबले जनसत्ताको जनअदालतले कारबाही शुरुवात गर्ने समेत चेतावनी दिएको छ।

‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जनअपराधीलाई अहिले सञ्‍चालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्नेछ। सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्नेछ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ , ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिनेछ।’

प्रतिक्रिया दिनुहोस
Advertisement