काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनका लागि ७ जना केन्द्रीय सदस्यलाई चुनावी मैदानमा उतारेको छ ।
यहि बैशाख ३० गते हुने चुनावमा भाग लिने र नलिने भन्ने विषयका कारण औपचारिक फुटको डिलमा पुगेको विप्लव नेतृत्वको नेकपाले ७ जना केन्द्रीय सदस्यलाई चुनावी मैदानमा उतारेको हो । साथै देशभर विप्लव समूहबाट ४ सय जनाले उम्मेदवारी दिएका छन् ।
विप्लव खेमाबाट उम्मेदवार हुनेमध्ये पोखरा महानगरपालिकाको मेयरमा सल्लाहकार किसन गुरुङ छन् भने चितवन, रत्ननगरको मेयरमा जिल्ला सचिव मीनप्रसाद सापकोटा उठेका छन् । कालिकोटमा पूर्वसांसद धीरेन्द्र उपाध्याय (भृकुटी) गाउँपालिका अध्यक्षमा सहित अर्का केन्द्रीय सदस्य चेतन बिसी पनि छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकामा पनि सिसिएम भेषराज भुसालको उम्मेदवारी परेको छ । केशबहादुर बाठा ‘सुवास’ र अमर झाँक्रीसहित अर्का केन्द्रीय सदस्य चूडामणि ओली पनि रोल्पाबाट चुनाव लडिरहेका छन् । ७ जना केन्द्रीय सदस्यमध्ये सिन्धुलीको हरिहरपुरगढीमा शशी राईको नामले चिनिने ब्रतबहादुर राई उम्मेदवार छन् ।
नेता योगेन्द्र कुमालले आफैं सहइञ्चार्ज रहेको गोरखामा उम्मेदवारी दिएका छन् । उनी गरिब र शहीद परिवारका हुन् । यसअघि विप्लवले पार्टी विपरित गतिविधि गरेको भन्दै सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाट हटाएका थिए । तर, उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै महासचिवले गरेको कारबाही अबैधानिक भएको निष्कर्ष निकालेका छन्।
पार्टीको १२औँ केन्द्रीय कमिटीको बैठकले पार्टी निर्वाचनमा सहभागी नहुने तर, एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको थियो। स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्यहरु नै उम्मेदवार बनेपछि सचिवालय सदस्य कञ्चनले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए। साथै उनीहरूले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।




प्रतिक्रिया