काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणको विरोध गरेका छन् ।
बुधबार काठमाण्डुमा आयोजित पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै एमसीसी अनुमोदन गर्दाखेरि गगन थापाले गरेको भाषणप्रति विरोध जनाएका हुन् ।
गगन थापाले एमसीसी पास गरेपछि नेपालमा अमेरिकी सेना आए आफुलाई चार पाटा मुडेर खेद्नु भनेका थिए । विप्लवले अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए । ‘अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपथ्र्यो नि अहिलेसम्म,’ विप्लवले भने ।
उनले अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको दावी गरे । त्यसैगरी उनले निरन्तर क्रान्तिको बाटोमा लाग्न आफ्ना युवा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘तपाईं युवाहरू सचेततापूर्वक लड्नु पर्छ । विप्लवका युवा तास खेल्दैथियो, डान्स बारमा समातियो भन्ने सुन्न नपरोस् । युवाहरूले राम्रो काम गर्नुस्,’ विप्लवले भने, ‘जनताको पक्षमा काम गरे गाँस काटेर भए पनि पाल्छन्, ओछ्यान छाडेर पनि सुताउँछन् ।’




प्रतिक्रिया