शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसंगै विप्लवलाई चिनियां कम्युनिष्ट पार्टीको निम्तो

शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसंगै विप्लवलाई चिनियां कम्युनिष्ट पार्टीको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिनियां विशेषतासहितको समाजवादको प्रशंसा गरेका छन् । चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले आफ्नो पार्टी नेपालमा वैज्ञानिक समाजवादका लागी लडिरहेको धारणा राखेका छन् । विप्लवले त्यसका लागी आन्तरिक र बाह्य चुनौती रहेको बताएका थिए ।

उनले चीनले हासिल गरेको सफलताबाट दक्षिण एसिया मात्र नभएर विश्वकै कम्युनिष्ट पार्टीहरु प्रभावित बनेको धारणा राखे ।

‘चिनियां कम्युनिस्ट पार्टीले नयां व्यवस्थाको जुन दृष्टिकोण राखेको छ, त्यसमा हाम्रो पनि मत मिलेको छ। हामी नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेका छौं,’ उनले भनेका थिए ।

कार्यक्रममा उनकै पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा लगायत शीर्ष नेतासहित उपस्थित थिए।

चीनको बेइजिङबाट चिनियां कम्युनिस्ट पार्टीको बिदेश बिभागका नेता सङ थाओसहित वरिष्ठ नेता सहभागी थिए । कार्यक्रममा नेपाल, श्रीलंका, भारत र बंगलादेशका कम्युनिस्ट पार्टीका नेताले आफ्नो कार्यक्रममा मन्तव्य दिए ।

कार्यक्रममा विप्लवले १९औं केन्दीय समितिको छैटौं बिस्तारित बैठक सम्पन्न गरी ऐतिहासिक निर्णय लिएकोमा चिनियां कम्युनिस्ट पार्टीलाई बधाई तथा शुभकामना दिनुका साथै विश्व कम्युनिस्ट आन्दोलनको चौथो कम्युनिष्ट इन्टरनेशनलका बारेमा प्रश्न समेत गरेका थिए । जवाफमा चिनियां नेता छिङ काङले कम्युनिष्ट आन्दोलन र समाजवाद निरन्तर विकास भइरहेको र त्यो नयां चरणमा पुगेको दावी गरे । उनले आफुहरु यसबारे छलफल रहेको भएपनि निष्कर्षमा पुगिनसकेको जानकारी दिए ।

विश्वभरीका साम्यवादीहरुलाई संगठित गर्न कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको अगुवाईमा १८६४ मा पहिले इन्टरनेशनल स्थापना गरिएको थियो । १८८९ मा एंगेल्सको अगुवाईमा दोस्रो इन्टरनेशनल बनेको थियो । रूसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९१९ मा लेनिनले विश्वका कम्युनिष्ट पार्टीहरूबीच मोर्चा बनाउने उद्देश्यले कम्युनिष्ट इन्टरनेशनल अर्थात् कोमिन्टर्न गठन गरेका थिए । यसलाई तेस्रो इन्टरनेशनल भनिने गरिन्छ ।

विप्लव चिनियां कम्युनिस्ट पार्टीसंग लामो समयदेखी सम्पर्कमा थिए । तर, औपचारिक रुपमा भने चीनले उनलाई पहिलो पटक बोलाइएको हो । विप्लवले माओवादी केन्द्र २०७३ मा छोडेसंगै उनको चिनियां कम्युनिष्ट पार्टीसंग सम्बन्ध टुटेको थियो । त्यसपछि उनको पार्टीले हिसांत्मक आन्दोलन सुरु गरेको थियो ।