काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले महासचिव नेत्रविक्रम चन्द विप्लवले कारबाही गरेको कारबाही अबैधानिक भएको निष्कर्ष निकालेका छन् ।
महासचिवले आफुहरुलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी पदमुक्त गरेपछि हेमन्तप्रकाश र धर्मेन्द्रले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उक्त कारवाहीको अर्थ नभएको निष्कर्षसहित कारवाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्तीहरु सच्याउन आग्रह गरेका छन् ।
पार्टीको कविलवस्तुको शिवगढीमा सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं बैठकले उल्टै पार्टी महासचिव विप्लवको संसदीय व्यवस्थाअन्तर्गत चुनाव प्रयोग गर्ने कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहिरहेर नैतिकतासमेत गुमाइसकेको व्यक्तिले कारवाही गर्नु अवैधानिक भएको बताएका छन् । उनीहरुले यसलाई दार्शनिक रूपमा निषेधात्मक अधिभूतवाद भएको तर्क गरेका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध आफुहरुमाथी यस्तो दण्डनीय कार्य गरेर स्वयम महासचिव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्णय विपरित कार्य गर्दै पदमा बसिरहनु हास्यस्पद भएको उनीहरुको ठहर छ ।
आफुहरुमाथी लगाइएका आरोपको खण्डन गर्दै महासचिव विप्लवलाई तथ्यका आधारमा तर्क गर्न पनि उनीहरुले चुनौती दिएका छन् ।





प्रतिक्रिया