थुनामुक्त गर्न अदालतले आदेश दिएलगत्तै पक्राउ परे विप्लवका ९ कार्यकर्ता


पोखरा – अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पुन पक्राउ गरेको छ । बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–११ उरिबाट पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनालाई थप अनुसन्धानको लागि जिल्ला अदालतले म्याद थपेको थियो । तर, गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै बन्दीका आफन्तले प्रत्यक्षीकरणको रिट हालेपछि अदालतले रिटमाथिको सुनुवाईका लागि दुबै पक्षलाई बहसका लागि बिहिबार बोलाएको थियो ।

रिटमाथि फैसला सुनाउँदै न्यायाधीश तेजबहादुर कार्की र सुभाष पौडेलको इजलाशले अदालतका रजिष्ट्रार जितेन्द्रबाबुु थपलियाको रोहोबरमा थुनामुक्त गर्न आदेश दिएलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement