विप्लव माओवादीका गतिविधीमा निगरानी र कारवाही अघि बढाउने प्रहरीको तयारी


काठमाडौं – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ।

सरकारको निर्णय आएपछि सोही अनुसार अघि बढ्ने प्रहरीको भनाई छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी गर्ने बताए।

हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै उनले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने दावी गरे। सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो। वार्तामा आउन पटकपटक आग्रह गर्दा पनि वास्ता नगरी हिंसात्मक गतिबिधि बढाएकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्ने निष्कर्षमा पुगेको हो।

सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने समेत बताएको छ ।नेकपामाथिको प्रतिबन्धमात्रै नभएर परिवर्तनको पक्षमा बोल्ने, राष्ट्रवादी, देशभक्त र परिवर्तनकामी शक्तिमाथि दमनको दुष्चक्र चलाउने र राष्ट्रघाती, देशद्रोही र विखण्डनकारी शक्तिलाई मलजल गर्ने कदम भएको विप्लव नेतृत्वको नेकपाले आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement