विप्लवका मध्य कमान्ड सुदर्शनको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

विप्लवका मध्य कमान्ड सुदर्शनको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ ।

सुदर्शनका छोरी विपना ओलीले चैत १३ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाव ललितपुर, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालत ललितपुरलाई विपक्षी बनाइएको छ । विपनाले बुबा हेमन्त प्रकाश र दाइ लोकेन्द्र खड्कालाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै उक्त रिट दर्ता गरेकी हुन्।

कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, राजु अधिकारी र कान्तीराम ढुंगानाको सहयोगमा सर्वोच्चमा बन्द्र प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी छिन्। ओली र खड्कालाई यही चैत ९ गते काभ्रेमा पार्टीको कार्यक्रममा सहभागी भई काठमाडाै‌ फर्किने क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको थियो। आफ्ना बुबा हेमन्त सुगर र प्रेसरको रोगी भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने दाबी गर्दै अदालतमा झिकाई तुरुन्त रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ।

त्यस्तै ओली कुनै पनि आपराधिक संगठनमा संलग्न नभएको र जिम्मेवार राजनीतिक दलमा सक्रिय रहेकोले राजनीतिक पूर्वाग्रहमा पक्राउ गरिँदा नेपालको संविधानले दिएको राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रताको हनन गरी पक्राउ गरिएको सर्वोच्चमा दर्ता भएको मुद्दामा उल्लेख छ। हेमन्त रुकुम त्रिवेणी गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् भने खड्का सोही गाउँपालिका वडा नं. ८ का स्थायी बासिन्दा हुन्।

रिटमा नेपालको संविधानको धारा ४६, धारा १३३ (३), सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, नियम ३७ बमोजिम आदेश जारीको लागि माग गरिएको छ। गत फागुन १० मा नख्खुमा १ जनाको ज्यान जाने गरी बम विस्फोट भएपछि नेकपा विप्लव समुहप्रति सरकार आक्रामक बनेको छ। प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका एक सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ । सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् ।