विप्लव नेकपाको आर्थिक अभियान सुरु : भगौडाहरुसँग सतर्क रहन आग्रह


काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पाँच महिने आर्थिक अभियान सुरु गरेको छ ।

शनिबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गर्दै पार्टीले पाँच महिनासम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा आर्थिक अभियानका क्रममा पार्टीले कारबाही गरेका र पार्टी छाडेर भागेका भगौडाहरुसँग सतर्क रहन आग्रह समेत गरिएको छ ।

प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन। देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ ।’

‘देशमा भ्रष्टाचारी, तस्कर, सुराकी, कमिसनखोर, लुटेरा, ठग, गुन्डा, बलात्कारी, व्यभिचारीहरूको बिगबिगी भएको बेला दुस्मनको हातमा खेलिरहेका, पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले पार्टीको अभियानलाई दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन सम्बन्धित सबैमा अनुरोध पनि गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement