विप्लवद्धारा असार १० गते नेपाल बन्दको घोषणा


काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रहरीले आफ्ना जिल्ला इन्चार्जको हत्या गरेको दाबी गरेको छ ।

प्रहरीले प्रतिवन्धित विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको झडपमा मृत्यु भएको दावी गरेपछि प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सर्लाहीको लालबन्दीमा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरेको दाबी गरेका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी गर्दै विप्लवले राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा लालबन्दी–१ लखन्ती खोेलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका हुन् ।

बिहीबार लखन्ती खोलामा दोहोरो मुठभेड हुँदा पौडेल मारिएको प्रहरीले बताएको थियो । विप्लवले विज्ञप्तिमा भनेका छन, ‘गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न सरकारद्वारा कथित भिडन्तको कथा सार्वजनिक गरिएको छ ।’
उनले पौडेल मृत्यु प्रकरणको नागरिक, मानवअधिकारकर्मी, बौद्धिक वर्गलाई निष्पक्ष छानबिन गर्न अपील गरेका छन् ।
उनले पौडेललाई सहिद घोषणा गरेको जनाउँदै क्रान्तिका प्रक्रियामा सोको बदला लिएर छोड्ने घोषणा गरेका छन् । पौडेलको मृत्युलाई लिएर विप्लव माओवादीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । उनले वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने सरकारको षडयन्त्रविरुद्ध दृढ भएर लाग्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement