काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले निजी दूरसञ्चार एनसेलका चार दर्जनभन्दा बढी ’बीटीएस’ टावरमा आक्रमण गरेसंगै दूरसञ्चारमा असर परेको छ । विप्लवले करिब ३० जिल्लाका बीटीएस टावरमा आक्रमण गरेको बताइएको छ।
आक्रमणमा परेका टावरहरूलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने गरी काम अघि बढाए पनि विकट स्थानमा रहेका टावरहरूमा सेवा सुचारु गर्न केही समय लाग्ने एनसेलले जनाएको छ ।
आक्रमणमा परेका अधिकांश टावर ’रिपीटर’ अर्थात् अन्य टावरलाई समेत सुचारु राख्न मद्दत गर्ने किसिमका भएको हुँदा आक्रमण भएका जिल्लाहरूमा टेलिफोन तथा इन्टरनेट सेवामा असर परेको हो।
बाग्लुङ्ग, पर्वत, दैलेख, डडेलधुरा, अछाम, डोटी, गोर्खा, सिन्धुपाल्चोक र कैलालीमा लगायतका जिल्लामा रहेका टावर आक्रमणमा परेको एनसेलले जनाएको छ।“विकट स्थानहरूमा देशैभरि सञ्जाल भएका नेपाल टेलिकम र एनसेल दुवैको उपस्थिति कम छ जसले गर्दा हाल भएको क्षतिले दूरसञ्चार सेवा नै अवरुद्ध बनाउने अवस्था सृजना गरिदिएको छ,“ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।




प्रतिक्रिया