सर्लाही इन्काउन्टर : भिडन्तको नाममा राजनैतिक नेताको मृत्यु कि हत्या ?

सर्लाही इन्काउन्टर : भिडन्तको नाममा राजनैतिक नेताको मृत्यु कि हत्या ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यशाेदा भुजेल

बिहिबार सर्लाहीको लालवन्दी नगरपालिका–१ मा बिहिबार दिउँसो प्रहरी र विप्लवबीच भएको भनिएको भिडन्तमा परि विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियाे । उक्त  घटनाप्रति सत्तारुढ दलका नेता तथा विद्यार्थी नेताहरुले नै  नियतबश हत्या गरेको भन्दै  गम्भीर प्रश्न उठाएका छन्  ।

सत्तारुढ दलका नेता तथा आम सर्वसाधारण नागरिकले पौडलको मृत्युलाई भिडन्त नभई नियतबश हत्या गरेको भन्दै सामाजिक सञ्जालमा तर्क वितर्क गरिरहेका छन् । उनीहरुले दोहोरो भिडन्तको नाममा जो कसैको पनि हत्या गर्न नहुने समेत बताएका छन् । सो घटनाको विषयलाई लिएर सार्वजनिक रुपमै टिकाटिप्पणी भइरहेका छन् ।

प्रहरीले पनि दोहोरो भिडन्त भएको विश्वासिलो प्रमाण पेस गर्न नसक्दा पुलिस प्रशासन र नेपाल सरकारमाथि गम्भीर प्रश्न उठेको छ । सत्तारुढ दलका नेताहरुले नै गृहमन्त्रीको राजीनामा मागेका छन् भने भिडन्त नै हो कि होइन, भिडन्तको नाममा राजनितिक नेताको हत्या गर्नुको पछाडी कसको हात ? भन्ने जस्ता सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

सत्तापक्षिय नेकपा निकट पुर्व अखिल (क्रान्तितकारी)का केन्द्रिय उपाध्यक्ष तथा हाल अनेरास्ववियूका केन्द्रिय नेता इन्द्र भुषालले सरकारको विरोध गर्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ माथी प्रश्न गरेका छन् । उनले सर्लाहीको लालबन्दीमा नेपाल प्रहरीले विप्लव समूहका नेता माथी गोली हानी हत्या गरेर सरकारले नेपाली जनता तर्साउन खोजेको टिप्णी गरेका छन ।

सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजी रहेको भन्दै दुर्भाग्यपूर्ण अवस्था आउन नदिन गृहमन्त्री थापालाई आग्रह समेत गरेका छन ।

त्यस्तै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले पनि घटनालगत्तै फेसबुकमा स्टाटस लेख्दै प्रश्न गरेका छन् । उनले लेखेका छन, ‘सर्लाहीमा भिडन्त भएको हो कि होइन सरकार ? उनले यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार भएको र भिडन्तको नाममा जो कोहीको हत्या गरिन नहुने बताएका छन् । ‘यो सरकार संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो । यो बेला कही–कसैको भिडन्तका नाममा हत्या गरिनु हुदैन ।’उनले भने, ‘कानुन हातमा लिएका, गलत बाटो हिडेका सबैलाई सरकारले सहि बाटोमा ल्याउने प्रयास गर्नु पर्छ । सर्लाही घटनाको न्यायिक छानबिन गरिनु पर्छ ।’

त्यस्तै प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै नेकपा सांसद शिवकुमार मण्डलले गृहमन्त्रीको जवाफ मागेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद केवटले भिडन्तको नाममा जनता मार्ने कामले राष्ट्र र जनतालाई राम्रो नगर्ने बताउँदै उक्त घटनाको सत्यतथ्य के हो ? गृहमन्त्रालयमार्फत सदनलाई जानकारी गराउन आग्रह गरे ।

अनेरास्ववियुकी अर्की नेतृ आरती लामाले दोहोरो भिडन्तको नाममा राजनैतिक व्यक्तिको हत्या भएको भन्दै राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । नेतृ लामाले फेसबुक स्टाटस लेख्दै भनेकी छन, ‘अपराधी होइन, दोहोरो भिडन्तको नाममा एक जना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार ।’

त्यसैगरी, अनुरास्ववियुका अर्का नेता सुरेन्द्र बस्नेतले संघीय गणतन्त्र नेपालको संविधानका कुनै पनि धारा अपरिवर्तनीय नरहेको भन्दै सरकार र विप्लव दुवैलाई सुझावसहित राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।

त्यस्तै अखिल क्रान्तिकारी केन्द्रीय समितिका नेता केशव रावलले गृहमन्त्री थापालार्ई खुला पत्र लेख्दै गृहमन्त्रीको पदबाट राजीनामा माग गरेका छन् । उनले गृहमन्त्रीको हैसियतबाट गरेका फेक इन्काउन्टर र फेक भिडन्त तत्कालिन कांग्रेसको भन्दा बढी पन्चायति शासन जस्तो देखिएको भन्दै राजिनामा माग गरेका हुन् ।

त्यस्तै नेकपा सांसद अंजना बिशंखेले राजनैतिक नेतालाई भिडन्तको नाममा हत्या गर्नुको पछाडि कस्को स्वार्थले काम गर्यो भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् ।

सर्लाही घटनामा प्रहरीको नियतमाथि शंका गर्दै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले फेसबुकमा लेखेका छन्, ‘केही समय यता सुरक्षा निकाय आक्रामक देखिएको छ । जुन राम्रो होइन ।’

यसरी ‘सर्लाही इन्काउन्टर’मा प्रहरीसँगै सरकारको नियतमाथि पनि गम्भीर प्रश्न उठेको छ । भिडन्तको नाममा राजनैतिक नेताको हत्याले कुनै प्रकारको शान्ती र समृद्धि दिदैन । उल्टै राज्यमा आतंक थोपर्ने काम गर्छ । त्यसको स–संगठित प्रतिरोधले देशलाई युद्धको दिशामा लैजान्छ । अहिलेको सरकारले राजनैतिक नेताको हत्या गरेर देशलाई युद्ध र आतंकको चक्रव्युमा लैजान खोजेका पाइन्छ ।