विप्लव समूहका १८ नेता कार्यकर्तामाथि सार्वजनिक मुद्दाको तयारी

विप्लव समूहका १८ नेता कार्यकर्तामाथि सार्वजनिक मुद्दाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कास्कीबाट प्रक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता –कार्यकर्तालाई प्रहरीले अनुसन्धानपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार राति विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत १८ जनालाई पक्राउ गरी राति नै पोखरा ल्याएको थियो।

‘उनीहरू सबैको अनुसन्धान जारी छ,’ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘धेरैलाई सार्वजनिक मुद्दा दायर हुन्छ।’ पक्राउ परेकाहरूबारे विभिन्न घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा यसअघि नै उजुरी रहेको उनले जानकारी दिए। पक्राउ परेका केहि भने साधारण तारेखमा पनि छुट्न सक्ने उनको भनाई छ। कास्की प्रहरीले शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली १८ जनालाई पक्राउ गरेको थियो।

शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक आयोजना गरिएको थियो। उक्त बैठकबारे पहिले नै जानकारी पाएको कास्की प्रहरीले गस्ती बढाएको थियो। त्यहाँ कार्यक्रम हुनेबारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाएको थियो। सोही सूचनाको आधारमा सादा पोसाकका प्रहरीको संख्या बढाएर र मातहतका प्रहरी चौकीमा प्रहरीको संख्या थप गरेर त्यस ठाउँमा प्रहरीले निगरानी बढाएको थियो।

प्रहरीको सूचनामा विप्लवका मध्यपश्चिम क्षेत्रका कमाण्डर सहितका नेताहरू अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताए पनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उक्त टोली भने अन्नपूर्ण गाउँपालिका नै पुगेन। यता विप्लव नेतृत्वको नेकपा कास्कीले भने आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै पक्राउ परेकाहरू सबैलाई तत्काल विनाशर्त रिहा गर्न पनि माग गरेको छ।