सेनाले प्रयोग गर्ने हतियार विप्लव माओवादीसँग, हतियार खोज्दै प्रहरी


काठमाडौं – एनसेलमाथि आक्रमण गरेर देशभर त्रास फैलाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अत्याधुनिक हतियारसहित धमाधम पक्राउ पर्दै आइरहेका छन् । मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको १२ वर्ष बितिसक्दापनि माओवादी द्वन्द्वकालमा सुरक्षाकर्मीबाट तत्कालीन बिद्रोहीले लुटेका हतियार धमाधम बरामद हुँदैछन्।

बुधबार (१५ फागुन) मा प्रदेश–१ प्रहरीले धरानबाट एक अत्याधुनिक हतियार बरामद ग¥यो, जुन हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँगमात्र रहेको छ। प्रदेश-प्रहरीको विशेष टोलीले बरामद गरेको त्यो हतियार हो, एम–१६ राइफल। झण्डै १ लाखको संख्यामा रहेको नेपाली सेनासँग यो अमेरिकी राइफल लगभग १५ हजार थानमात्र छन्।

बिहीबार (२३ फागुनमा) कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९, सुन्दरी डाँडा गाउँ। प्रहरीले बिहान ‘स्वीप अपरेसन’ चलाएको थियो याे गाउँमा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ को घर हाे। सुरक्षा निगरानीले पछि परेको यो क्षेत्रमा चन्द नेतृत्वको माओवादीले सैन्य शिविर चलाउने गरेको थियो। लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार बिहान विप्लवको गाउँभरि नैअपरेसन चलाएको छ । कपिलवस्तु प्रहरीका अनुसार जंगल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको थियो।

कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युत पुडासैनी आफैं खटिएको यो टोलीले विप्लवको घर तथा गाउँ आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो। विप्लवको गाउँमा छापा मार्न नेपाल प्रहरी र सशस्त्रका डेढ सय प्रहरी सुन्दरी डाँडा पुगेका थिए। ‘प्रहरीले आफ्नो काम गरिरहेको छ, आधुनिक तथा अटोमेटिक हतियार बरामद भएकाले सर्च र स्वीप अपरेसन चलिरहन्छ,’ उनले भने।

कपिलवस्तुको प्रहरी र सशस्त्रको संयुक्त टोलीले बुधबार राति विशेष अपरेसन गरी दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको थियो । रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजीन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको कपिलवस्तु प्रहरीका उपरीक्षक पुडासैनीले बताए।

 गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ।

‘द्वन्द्वमा कति हतियार लुटियो एकिन तथ्यांक छैन, तर लुटिएका हतियार अझै विप्लवको पार्टीसँग रहेको आशंका छ’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘प्रहरीले गोप्य निगरानीमा हतियार कब्जामा लिन थालेको छ।’ सबै माओवादी एक हुँदा शान्ति सम्झौतापछि हतियार राज्यलाई बुझाएका थिए। तर पटक-पटक बेवारिसे अवस्थामा हतियार बरामद हुँदै आएका छन्। प्रहरीले नख्खु बम विस्फोटमा संलग्न भएको आरोपमा बुधबार नख्खुबाट केदार खतिवडालाई पक्राउ गरेको छ। उनी विप्लवको पोलिटब्युरो सदस्य रहेको प्रहरीले जनाएको छ।

यसअघि अर्का नेता सूर्य भुजेल पक्राउ परेका थिए। भुजेल र रोक्का दुवै विस्फोटका बेला घटनास्थलमै प्रहरीको रहेको दाबी  छ।प्रहरी प्रवक्ता उत्तम सुवेदीले ज्यान लिनेसम्मका अपराधमा संलग्न भएपछि विप्लवका कार्यकर्तामाथि विशेष निगरानी बढाइएको स्विकारे। उनले भने, ‘बम बनाएर पड्काउने, हतियार राखेर धम्क्याउने र मान्छे मार्न कसैलाई छुट छैन। विशेष योजना बनाएरै प्रहरी परिचालन गरेका छौं।’ उनले विप्लवसँगका अवैध हतियार बरामद गर्नकै लागि विशेष योजना बनाएर प्रहरी खटिएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement