काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेकपाको क्रान्तिकारी पत्रकार महासंघले प्रहरी हिरासतमा रहेको जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मालाई रिहा गर्न माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघले बिनाकारण आफ्ना पत्रकारलाई पक्राउ गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेको हो । साथै महासंघले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व बोकेको राज्य प्रशासनबाटै यसरी प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न समेत माग गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनपत्रकार संगठन संयोजक विश्वकर्मासहित उपत्यका संयोजक मानध्वज लामा र नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाका सचिव मोहन पन्तलाई पौष २० गते पक्राउ गरेका थियो । पत्रकार लामा र पन्तलाई २० गते साँझ छाडिए पनि संगठनका संयोजक विश्वकर्मालाई प्रहरी हिरासतमै राखिएको छ ।
‘मुलुकमा प्रतिगामी फासिवादी शासनले टाउँको उठाउँदै गएको वर्तमान स्थितिमा सिंगो प्रेस जगत, त्यसमा पनि जनपक्षीय मिडिया र पत्रकारहरु अझ बढी राज्यको प्रहारको निशानामा पर्दै गएका छन् र आगामी दिनमा यो क्रम अझ बढेर जाने देखिएको छ । राज्यको यस्तो निरंकुश तथा फासिवादी कदमको विरोध एवम् प्रतिरोधमा एकताबद्ध भएर आवाज उठाउन र आन्दोलित बन्न हाम्रो संगठन सम्बन्धित सबैमा हार्दिक आव्हान समेत गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया