प्रहरीको फरार सूचीमा रहेको व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव पत्रकारमा भाँडभैलो

प्रहरीको फरार सूचीमा रहेको व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव पत्रकारमा भाँडभैलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा भाँडभैलो मच्चिएको छ । विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन ‘जनपत्रकार संगठन नेपाल’को संयोजकमा गैरपत्रकार कार्यकर्ता शेरबहादुर बिक ‘दर्शन’लाई ल्याएपछि भाँडभैलो मच्चिएको हो ।

अछाम घर भएका बिकलाई प्रहरीले बम विस्फोट, चन्दा असुली, राज्यविरुद्धको अपराध गरेको आरोपमा खोजि गरिरहेको छ । पत्रकारिताको सामान्य ज्ञान समेत नभएका व्यक्तिलाई पत्रकार संगठनको जिम्मेवारी दिएपछि विप्लव निकट पत्रकारले बिकलाई बहिस्कार गरेका छन् ।

पार्टीले बिकको माताहत बस्न भनेपनि पार्टी निकट रहेर पत्रकारिता गरिरहेकी हालको सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरीले समेत बिकलाई अस्वीकार गर्दै संगठनमा बस्न अस्वीकार गरेपछि बिकले सबै पदाधिकारीलाइ विदाई गरिएको विज्ञप्ति जारी गरेको एक सदस्यले बताए ।

संगठनको बैठकको निर्णय भन्दै पुस १६ गते बिकले विज्ञप्ति जारी गरेका थिए । तर बैठक नै नबसेर विज्ञप्ति जारी गरिएको उनले बताए । बिकले जारी गरेको विज्ञप्तिमा २०७८ बैशाखमा सम्मेलन गरी संयोजक समिति बनाइएको उल्लेख छ ।

विप्लव निकट पत्रकारहरुका दुई संगठन छन् । पार्टीले यसअघि जुनियर कार्यकर्ता प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि पुराना र ठूलो समूहले क्रान्तिकारी पत्रकार संगठन नेपाललाई निरन्तरता दिएको छ । त्यसबेला पार्टीले जनपत्रकार संगठनलाई आधिकारिकता दिएको थियो । त्यही जनपत्रकार संगठनका पदाधिकारीदेखि बहुमत सदस्यले अहिले बिकलाई अस्वीकार गरेका छन् । बैठक बस्न समेत टोली जुटाउन नसकेर बिकले बैठक बसेको झुटो बिषय उल्लेख गरेर विज्ञप्ति जारी गरेको बताइएको छ ।

विवाद हुनुभन्दा पहिले विप्लव निकट पत्रकार संगठनको नाम क्रान्तिकारी पत्रकार संगठन नेपाल थियो । पार्टीले प्रकाश डुम्रेलाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको थियो । क्रान्तिकारी पत्रकार संगठनका बहुमत सदस्यले पार्टीको उक्त निर्णय नमानेपछि जनपत्रकार संगठन नेपाल नाम राखेका थिए ।

उक्त संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिब हिम बिस्टले भूमाफियासँगको मिलेमतोमा पैसा खाएको भन्दै विप्लवले कारवाही गरेपछि उक्त संगठन नेतृत्वविहीन बनेको थियो । त्यसपछि हालसम्म सचिव सिर्जना तिम्सिना र कोषाध्याक्ष जानकी चौधरीले संगठनको नेतृत्व गरिरहेकी थिइन् । सचिव र कोषाध्यक्ष दुबैलाई बाइपास गरेर गैरपत्रकारलाई संगठनको जिम्मा दिएपछि विप्लवको पार्टी भित्र तीब्र असन्तुष्टि बढेको एक सदस्यले जानकारी दिए ।

विप्लव नेकपाका एक पार्टी केन्द्रिय सदस्यले भने, ‘अहिले पार्टी केन्द्रको निर्णय दुबै संगठनलाई मिलाउने गरी भएको हो । तर, पत्रकारिताकै क्षेत्रबाट आएका नेताहरु हुँदाहुँदै बाहिरबाट विकल्प खोजिनु दुर्भाग्यपूर्ण भयो । हामीले नेतृत्वलाई पत्रकारितामै स्थापित साथीहरुमध्येबाट दुबै संगठन मिलाउने गरी एकजनलाई जिम्मेवारी दिनुपर्छ भन्ने सुझाव दिएका थियौं तर त्यो भएन’ ती केन्द्रीय सदस्यले भने ।

उनले बिकलाई संगठनको जिम्मा दिएर पार्टीले फेरि पनि गल्ती गरेको समेत बताए । पार्टीमाथिको प्रतिबन्धपछि अछामको रामारोशन गाउँपालिका बाटुलासैनमा प्रहरी गस्तीमाथि भएको आक्रमणका क्रममा बिक घाइते भएका थिए । घाइतेपछि उनी हालसम्म काठमाण्डुमै छन् । अहिले पार्टीको एक प्रकाशनमा जोडिएका बिकले काठमाण्डुबाटै अछामका स्थानीय तहमा विज्ञापनको नाममा धम्क्याएर चन्दा माग्ने गरेको एक जनप्रतिनिधिले बताए ।

बिक नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत छैनन् । उनी पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा निकट भएकै कारण जनपत्रकार संगठनकै बहुमत सदस्यले बहिस्कार गर्दागर्दै पनि संयोजक बनाएको बताइएको छ ।