काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नामक समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आइतबार राजधानीमा भएका बम विस्फोटन घटनामा आफ्ना कार्यकर्ताको ज्यान गएको स्वीकार गरेका छन्।
विप्लव समूहको सोमबारको बन्दको पूर्वसन्ध्यामा आइतबार सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा चार जना मारिएका थिए। विप्लवले विज्ञप्ति जारी गरेर आफ्नो लडाकू समूह जनमुक्ति सेनाका महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ । तर, कमाण्डर को हो भनेर खुलाइएको छैन।उक्त घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने विप्लव समूहले जनाएको छ।
उनले जारी गरेको विज्ञप्तिमा यी सबै घटनाको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको उल्लेख गरेका छन् । त्यसैगरी उनले नेपालमा कम्युनिष्टको नाममा केपी–पीके कम्पनीले फासिवादको अभ्यास गरिरहेका आरोप लगाएका छन् । उनले झुठो मुठभेडका नाममा आफ्ना निशस्त्र कार्यकर्तालाई गोली हानी हत्या गरेको विरोधमा सोमबार नेपाल बन्द आह्वान गर्नुपरेको बताएका छन् । सोमबारको संसदमा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिने चारै जना विप्लव समूहका रहेको जनाएका थिए।




प्रतिक्रिया