काठमाण्डु – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनविरुद्ध सबै माओवादीले एकजुट भएर मुकाविला गर्ने बताएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा बोल्दै नेताहरूले संविधान संशोधन गरेर समानुपातिक र समावेशी लगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै संघर्षमा पनि जाने चेतावनी दिए ।
नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तै हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रतिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरू क्रान्तिलाई निरन्तरताका लागि अगाडि बढेको बताउँदै उनले भने, ‘जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।’
लामाले दलाल पुँजीवादी व्यवस्थाका कारण हजारौं युवाहरू पलायन हुन बाध्य भएका र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको आरोप लगाउँदै उनले भने, ‘अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरूले २०४७ सालतिर फर्काउने कुचेष्टा गरिरहेका छन्, सबै माओवादी एक बनेर लडौं ।’
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने बताए । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भाषमा फेसका कारण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै उनले भने, ‘यो व्यवस्थामा प्रचण्ड, केपी या देउवा जो आए पनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं ।’




प्रतिक्रिया