प्रधानमन्त्रीकै सामुन्ने विप्लवको दाबी : नेपाललाई युक्रेन बनाउन खोजिँदैछ


विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको दाबी गरेका छन् ।

समाजवादी मोर्चा नेपालले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘नेपाललाई निकास दिने नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे आफू सडकमा लड्न तयार भएको बताउँदै उनले आफू क्रान्तिबाट नडराउने बताए ।

नेपालका सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको उनले बताए ।

समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको, ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुनामा पुर्‍याउने उनले बताए ।

नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताउँदै उनले जनयुद्धले ठूलो परिवर्तन आए पनि जनताले अनुभूति गर्न नसकेको बताए ।

वर्तमान व्यवस्था दलाल पुँजीपतिहरूको जिम्मामा जाने खतरा देखेको बताउँदै उनले त्यसलाई रोक्न आवश्यक रहेको बताए । अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पुँजीवादको मुख्य हात रहेको बताउँदै उनले अब नेपाली विशेषता सहितको समाजवादमा जानुपर्ने बताएका छन् ।

परिस्थितिले फुट र जुट गराउने गरेको बताउँदै उनले फुटले रमाउने तत्वहरू रमाए पनि जनता दुःखी भएका बताए ।

सन्देश सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement