काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना भाइरस नियन्त्रणका सरकारले विशेष पहलकदमी गर्नुपर्ने माग राखेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेका बेला नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरेर सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनु पर्ने बताएको हो ।
‘श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ,’ विप्लव समूहले अगाडि भनेको छ, ‘भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।’
विप्लव समूहले भष्टाचार नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ । ‘कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विप्लव समूहले कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न पार्टी तयार रहेको बताएको छ ।
विप्लवले भनेका छन्, ‘कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ । भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।’






प्रतिक्रिया