काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले व्यवस्था गरेको हेलिकोप्टर प्रयोग गर्न अस्वीकार गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले महासचिव विप्लवलाई हेलिकोप्टमार्फत काठमाण्डु ल्याउन प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छन् । उनी गाडीमार्फत काठमाण्डु आउने भएका हुन् । महासचिव विप्लव अहिले काठमाण्डु उपत्यका बाहिर छन् ।
गृह स्रोतकाअनुसार सरकारले उनका लागि हेलिकोप्टर ‘स्ट्याण्डबाई’ राखेको थियो । दुई वर्षसम्म भूमिगत रहेर सरकारी हेलिकोप्टर प्रयोग गर्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैंले व्यवस्था गरेको गाडीबाटै उनी काठमाण्डु आउँदैछन् ।
शुक्रबार सरकार र नेकपाबीच औपचारिक रुपमा शान्तिपूर्ण राजनीतिमा आउने विषयमा सहमति हुँदैछ । भोलीको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले सम्बोधन गर्दैछन् ।
सरकार र नेकपाबीच आज तीन बुँदे सहमति भएको थियो । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादलको र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई थिए भने साथै विप्लव नेतृत्वको नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी थिए ।




प्रतिक्रिया