काठमाडौं – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको हो ।
घरको कम्पाउन्डमा विस्फोट गराइएको छ । प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए । बाँस्कोटाको घरमा रिमोट कन्ट्रोलबाट बम बिस्फोटन गराइएको खुलेको छ ।
बाँस्कोटाको घरमा बुधबार विहान प्रेसर कुकर बम रिमोर्ट कन्ट्रोलबाट गराइएको प्रहरीले बताएको छ । घटनास्थलभन्दा पाँच सय मिटर टाढा रिमोर्ट फेला परेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।
विप्लव समूहले लियो जिम्मा
पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लिएको छ ।
घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ ।
विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्का्तिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ ।
यस्ता छन् विप्लव समूहले बाँस्कोटामाथि लगाएका १० आरोप :
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौं हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।




प्रतिक्रिया