काठमाण्डु – सरकारले फागुन २३ गतेको प्रतिनिधिसभा बैठक अगाडि नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्ता टुंगो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अगाडि नै निष्कर्षमा पुग्न वार्ता टोलीलाई निर्देशन दिइसकेका छन् । स्रोतकाअनुसार वार्ता अन्तिम चरणमा पुगेको छ । सम्भवतः एक दुई दिन भित्र नै वार्ता टुंगोमा पुर्याएर पत्रकार सम्मेलन गर्ने तयारी छ । सहमतिको खाका तयार भइसकेको स्रोतले जानकारी दियो ।
विप्लव नेतृत्वको नेकपाले दुई वटा माग लिएर वार्तामा गएको थियो । प्रतिबन्धपछि पक्राउ परेका आफ्ना सबै नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नुपर्ने र प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग नेकपाको थियो । त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले हतियार बुझाउन पनि वार्ता टोलीका संयोजकलाई आग्रह गरेका थिए ।
गृहमन्त्री बादलले वार्ता सकारात्मक रहेको एक/दुई दिनभित्रै शुःखद् परिणाम आउने बताएका थिए । उनले भनेका थिए, ‘वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’
सरकार र नेकपाबीच बिहीबारबाट सुरु भएको औपचारिक वार्ता आज पनि बसिरहेको छ । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् भने नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने सहभागी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कडा सुरक्षाबीच वार्ता चलिरहेको छ ।




प्रतिक्रिया