कार्यकर्ता पक्राउ परेपछि विप्लवको चेतावनीः अब कडा प्रतिरोध गरिन्छ !


काठमाडौं – बुधवार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको बैठक बसिरहेको अवस्थामा प्रहरीले नेता कार्यकर्ता पक्राउ परेपछि महासचिव विप्लवले विज्ञप्ति निकालेका छन् ।

बिहीवार विज्ञप्ति जारी गर्दै विप्लवले श्रमिक जनताको अधिकारका लागि लडिरहेका कार्यकर्ता पक्राउ गरेर सरकारले गल्ती गरेको बताएका छन् । विप्लवले कार्यकर्ता पक्राउको विरोधमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, कलछली महँगी, तस्करुीकाविरुद्ध लडिरहेका हाम्रा नेता/कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिन्छ ’, विज्ञप्तिमा भनिएको छ ।

महासचिव विप्लवले केपी शर्मा ओली नेतृत्वको सरकार निरंकुश, सर्वसत्तावादी र फासीवादी भएको आरोप लगाएका छन् ।

‘हामी केपी सरकारको निरंकुश एवं फासीवादी दमनका विरुद्ध जागरुक हुन र संघर्ष गर्न सबै मानवअधिकारवादी, कानूनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई विशेष अपिल गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement