काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केही दिनअघि गत आर्थिक वर्षको प्रगति समीक्षा सार्वजनिक गर्दै उपलब्धिको पहिलो नम्बर ‘विध्वंशात्मक गतिविधि नियन्त्रण गरेको’ उल्लेख गरे ।
विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाउँदै कारवाही गरिरहेको छ । सरकारले विप्लव समूहसँग सम्बन्ध नराख्न आह्वान गर्ने, कार्यकर्ता पक्राउ गरेर पार्टी छाड्न लगाउने र नेताहरूलाई पक्राउ गर्ने गरिरहेको छ भने सुरक्षाकर्मीसँगको ‘मुठभेड’मा केही नेताको मृत्यु समेत भएको छ ।
गृहमन्त्री थापा र सरकारले भनेजस्तो विप्लव समूह नियन्त्रणउन्मुख छ त ? हालसालै सुरक्षा निकायमार्फत सरकारसमक्ष पुगेको एउटा रिपोर्टले विप्लव समूह सैन्य संरचनामा जान लागेको खुलासा गरेको छ ।
विप्लव समूहको नेतृत्वले जिल्ला, भातृ संगठन र अन्य ईकाइमा पठाएको परिपत्र झस्काउने खालको रहेको सुरक्षा निकायको विश्लेषण छ । परिपत्रमा सैन्य संरचनामा जाने तयारीदेखि भारतीय माओवादीसँग भएको साँठगाँठका विषय उल्लेख गरिएका छन् ।
हालसम्म व्यवस्थित सैन्य संरचना नबनाइसकेको मानिएको विप्लव समूहले सैन्य संरचनामा जाने तयारी गर्नु सरकारका लागि चुनौतीको विषय हो । विप्लवले गोप्य रुपमा साउन ९ गते सबै जिल्ला कमिटी इन्चार्ज, भातृ संगठन इन्चार्ज, विद्यार्थी संगठन इन्चार्ज लगायत पार्टीका सबै संगठनलाई विशेष सर्कुलर जारी गरेको छ ।
सर्कुलरमा साउन १५ गतेदेखि असोज महिनासम्म तेस्रो चरणको संगठन विस्तार अभियान सुरक्षित ढंगले सञ्चालन गर्दै राजनीतिक तथा सैन्य राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने उल्लेख गरिएको छ । पार्टीको नीीतबारे स्पष्ट पार्दै परिपत्रमा भनिएको छ, ‘संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीले दीर्घकालीन भौतिक कारवाही सञ्चालन गर्ने केन्द्रिय नीति भए अनुसार सम्पूर्ण पार्टी सदस्य सुरक्षित रहनुपर्ने ।’
पार्टी कमिटीले आफ्नो असरदार निशानाहरू छनौट गर्नुपर्ने, चन्दा संकलन अभियान निरन्तर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । विप्लवले पार्टीलाई छापामार शैलीमा ढाल्ने तयारीबारे समेत परिपत्रमा उल्लेख गरेका छन् । ‘पार्टी क्रमिक रुपमा छापामार शैलीको फौजी स्वरुपमा परिवर्तन हुनेछ,’ परिपत्रमा उल्लेख छ ।
विप्लव समूहका गतिविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र बाह्य प्रभावबारे आशंका गर्ने गरिएको बेला परिपत्रमा भारतीय माओवादीसँग साँठगाँठ रहेको उल्लेख गरिएको छ । भारतमा ‘आतंककारी’ मानिने माओवादीसँग विप्लव समूहले सम्पर्क राख्दै प्रशिक्षण र भेटघाट गर्ने गरेको सुरक्षा स्रोतको दाबी छ । स्रोतका अनुसार भारतीय माओवादीसँगको सम्पर्कमा उपल्लो तहका नेता समेत संलग्न हुने गरेका छन् ।
विप्लव नेकपाका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पार्टीको सैन्य फाँटका चन्द्रबहादुर चन्द ‘वीरगञ्ज’, उपसंयोजक उदयबहादुर चलाउने ‘दिपक’ सहित अन्य केही व्यक्तिहरू साउन ९ गते हरियाणामा भारतीय भूमिगत माओवादीसँग विशेष किसिमको राजनीतिक प्रशिक्षण र भेटघाट कार्यक्रममा भाग लिन गएको जनाइएको छ । सुरक्षा निकायले फेला पारेको दस्तावेज र गोप्य सूचनाले विप्लव समूह अझै प्रभावकारी रणनीति र कार्ययोजना बनाइरहेको देखिएको छ ।
सरकारले विप्लव समूहका नेता कार्यकर्तामाथि धरपकड र ‘इन्काउन्टर’ गर्ने तथा विप्लवले पनि सैन्य संरचना विकसित गर्ने अवस्थामा द्वन्द्व बढ्ने आकलन गर्न सकिन्छ । सरकारले विप्लव समूहमाथि दमन गरिरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै संसदमा विरोध जनाउने गरेका छन् । विप्लवसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने सत्तारुढ सांसदको सुझाव छ ।
केही दिनअघि सरकार र विप्लव समूहबीच वार्ताको प्रयास भइरहेको सार्वजनिक भएको थियो । तर वार्ताको बहानामा सरकारले विप्लवका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको निष्कर्षमा विप्लव समूह पुगेको देखिएको छ । लामा पक्राउ परेपछि विप्लव समूह झस्किएको र वार्ताको वातावरण बिग्रिएको स्रोतको दाबी छ । सरकार र विप्लव दुवै पक्षका क्रियाकलापले अवस्था थप जटिल बन्दै गएको छ ।
सुरक्षा निकायले समेत विप्लव समूहमाथि कारवाही गर्नुको सट्टा वार्ताबाट समाधान निकाल्नु उत्तम हुने सुझाव दिएका छन् । विप्लव र सरकारबीच दोहोरो हानथाप हुँदा दुवै पक्षतिर क्षति भइरहेको छ । हालसम्म प्रहरीको गोली लागेर तीन जना विप्लव नेता तथा एक जना प्रहरीको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया