जनताले महसुस गर्ने गरी उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

जनताले महसुस गर्ने गरी उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा विशेष जोड दिएका छन् ।

मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिदैं मन्त्री श्रेष्ठले उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको बताएका हुन् ।

आइतबार मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल गरेका छन् ।

ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

जनताले महसुस गर्ने गरी प्रत्यक्ष परिणाम दिने कार्यसम्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले आगामी दिनमा देखिएका चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।