काठमाण्डुमा बर्डफ्लु देखिएपछि २५ सय पन्छी नष्ट, विभागले जारी गर्‍यो यस्तो अपील

काठमाण्डुमा बर्डफ्लु देखिएपछि २५ सय पन्छी नष्ट, विभागले जारी गर्‍यो यस्तो अपील


काठमाण्डु – पशु सेवा विभागले काठमाण्डुमा बर्डफ्लु देखिएपछि चार बुँदे अपील जारी गरेको छ ।

विभागले एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका स्थानीय किसानले पालेका करिब २५ सय टर्की र हाँस, कुखुरामा बर्डफ्लु देखिएपछि नष्ट गरेको जनाएको छ ।

विभागले १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको हो । विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको जनाएको छ ।

विभागले पशु तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न विभागको आग्रह छ ।

विभागले कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

‘कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा विक्रिस्थलमा अस्वभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिनू हुन अपील गर्दछौं’, सूचनामा भनिएको छ ।