काठमाण्डु – विपक्षी दल कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडियाले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीको उत्तेजनात्मक भाषाले कांग्रेस सांसद आवेगमा आएको बताएका छन् ।
प्रदेशसभामा पेश भएको प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कनोडियाले सरकारले दुई तिहाईको दम्भ देखाएको बताए ।
‘हामीले त्यसलाई राम्रो मानेका छैनौं । हिजाको घटना संसदीय मर्यादाभित्र पर्दैन । उत्तेजनाले उक्त घटना घट्न गयो’, उनले भने, ‘कानूनमन्त्रीजीले पनि असंसदीय र उत्तेजनात्मक भाषा प्रयोग गर्नुभयो । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । हामी तोडफोड चाँहदैनौं ।’
उनले मुख्यमन्त्री शंकर पोखरेलसँग आफूहरुले सहमतिका आधारमा अगाडि बढ्न आग्रह गरिएको बताए । उनले सरकारले विधि–प्रक्रिया मिचेर छापामार शैलीमा प्रतिपक्षसँग कुनै छलफल नगरी प्रदेशको नामकरण र राजधानीको प्रस्ताव गरेकोप्रति आफूहरुको आपत्ति रहेको बताए ।
‘प्रदेशको नामकरण र राजधानीबारे बहस–छलफल गर्नुपर्नेमा विधि प्रक्रिया मिचेर, साथीहरुको अधिकार हनन् गरेर छापामार शैलीमा प्रस्ताव ल्याएकाेमा आपत्ति थियो,’ सांसद कनौडियाले भने ।




प्रतिक्रिया