वीरगञ्ज – पर्साको वीरगञ्जमा सोमबारदेखि जारी निषेधाज्ञा आज बिहान ४ घण्टा हटाएर पुनः निषेधाज्ञा जारी गरिएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि २ पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगञ्जमा सोमबार निकालेको प्रदर्शनका क्रममा २ पक्षबीच झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेशसागर भुसालले जानकारी दिए ।
स्थानीय सर्वसाधारणको दिनचर्यालाई प्रभाव नपरोस् भनेर आज मंगलबार बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम लागू भएको छ ।
पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ । निषेधाज्ञा जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायत उच्छृंखल गतिविधि गर्नमा रोक लगाइएको छ ।
वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।




प्रतिक्रिया