वीरगञ्जमा हैजा संक्रमण पुष्टि, २ दिन विद्यालय बन्द

वीरगञ्जमा हैजा संक्रमण पुष्टि, २ दिन विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – पर्साको वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका–११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएका हुन् ।

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा तीमध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार हैजा पुष्टि भएका ती सबै वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका हुन् । शुक्रबार ३ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएको छ ।

वीरगञ्जको विभिन्न स्थानका हालसम्म १० जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको  छ ।

शाखा प्रमुख राजु साहले शुक्रबारदेखि झाडापखालाका बिरामीहरूको संख्या बढ्दै गएको बताए । झाडापखालाको उपचार गरिरहेका २ जनाको मृत्यु भएको पनि हैजाकै कारण भएको हुनसक्ने आशंका गरिएको उनको भनाइ छ  ।

यद्यपि ती दुवैको मृत्यु हैजाका कारण भए/नभएको पुष्टि हुन भने बाँकी रहेको उनले जानकारी दिए । अहिले झाडापखालाका कारण वीरगञ्जको विभिन्न  अस्पतालमा बिरामी भर्ना भएका छन् ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले विभिन्न अस्पतालमा पुगेर बिरामीको स्वस्थ्य तथा उपचारका बारेमा जानकारी लिए ।

यसैबिच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको संक्रमणलाई मध्यनजर गर्दै २ दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आईतबार र सोमबार) २ दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।

सूचनामा हैजा संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।