वीरगञ्जमा भोलि बिहानसम्म ‘कर्फ्यू’

वीरगञ्जमा भोलि बिहानसम्म ‘कर्फ्यू’


काठमाण्डु – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले पुस २१ गते साँझ ६:०० बजेदेखि भोलि पुस २२ गते बिहान ८:०० बजेसम्मका लागि कर्फ्यू लगाएका हुन् ।

प्रशासनका अनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमानाभित्र कर्फ्यू लागू हुनेछ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेशमा उल्लेख छ ।

कर्फ्यू जारी भए तापनि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनहरूलाई आवश्यक पहिचानका आधारमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ ।

कर्फ्यू आदेश तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ । आदेशको उल्लंघन गर्ने जोकोहीलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।