हितेन्द्रलाई विष्णु रिमालले भने- बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ

हितेन्द्रलाई विष्णु रिमालले भने- बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाएको बताएका छन् ।

आइतबार सामाजीक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सुझाव दिंदै यस्तो बताएका हुन् ।

उनले समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेकोले सजक रहन सुझाव दिएका छन् ।

अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेकाले दुनियाँ शाक्यलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको आरोप समेत लगाए ।

उनले भनेका छन् :- श्री हितेन्द्र शाक्यजी !
तपाईं नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ।

तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।

अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।

त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।

कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।