काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पदीय मर्यादालाई बिर्सेर निम्नस्तरको ट्वीट गरेका छन् ।
पछिल्लो समय पार्टीभित्र र बाहिरबाट सरकारको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने सरकारका गलत कामको आलोचना गर्नेलाई लक्षित गर्दै ‘छौंडा’ शब्द प्रयोग गरेर गाली गरेका हुन् ।
आइतबार बिहान ६ बजेर २५ मिनेटमा पोस्ट भएको उनको उक्त ट्वीटमा उनले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन, कसैले छोड्छन, दुस्ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’ उनले गरेकाे याे ट्वीटले चाैतर्फी आलोचना भएको छ ।
उनको यो ट्वीटमा धेरैले कमेन्ट गर्दै प्रधानमन्त्रीको सल्लाहकारजस्तो मानिसबाट यस्तो निम्नस्तरको अभिव्यक्ति आउनु लाजमर्दाे मात्रै नभई दयालाग्दो समेत रहेको र यस्ता सल्लाहकारले कसरी असली सल्लाह दिन सक्छन् भन्ने प्रश्न उठाएका छन् ।
कतिपयले सल्लाहकार र पार्टीको स्यायी कमिटी सदस्यबाटै राजीनामा दिन रिमाललाई सुझाएका छन् । उनकै ट्वीटमा मेन्सन गर्नेहरूले पनि ‘पदीय मर्यादा नबिर्सन’ सुझाव दिएका छन् ।
कतिपयले यस्ताको सल्लाहमा चलेको पार्टी, सरकारले पनि राम्रो काम गर्छ भनेर पत्याउने म नै महामुर्ख भनेका छन् । रिमालको उक्त ट्वीटले प्रधानमन्त्री स्वयंलाई समेत अफ्ठ्यारो परेको छ ।
भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?— Bishnu Rimal (@BishnuRimal) July 7, 2019




प्रतिक्रिया