काठमाण्डु – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पौडेलले योजना तथा कार्यक्रममा हेरफेर गर्दै आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताए ।
अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताए । अर्थतन्त्रका परिसूचकहरू सुधार हुँदै गए पनि विगतमा देखिएका स्रोत व्यवस्थापनका खाडललाई पुर्न केही समय लाग्ने उनले बताए । बजेट प्रणालीलाई मार्गदर्शन गर्ने दस्तावेजका रूपमा रहेको संविधानका आधारमा आवश्यक नीति अवलम्बन गरिने उनले बताए ।
उनले सामाजिक सुरक्षाका नाममा ठूलो रकम खर्च हुने गरेकाले खर्च व्यवस्थापनको समस्या समाधान गर्नैपर्ने बताए । तीनै तहको सरकार रहेको अवस्थामा प्राथमिकीकरणका आधारमा आयोजना छुट्याउनुपर्ने उनले बताए ।




प्रतिक्रिया