सम्पत्ति शुद्धीकरणमा दीपक जेल चलान भएको ५ दिनमा विष्णु पौडेल पक्राउ, के हो ‘कनेक्सन’ ?

सम्पत्ति शुद्धीकरणमा दीपक जेल चलान भएको ५ दिनमा विष्णु पौडेल पक्राउ, के हो ‘कनेक्सन’ ?


काठमाण्डु – नयाँ सरकार गठन भएयता थुप्रै नेता र व्यापारी पक्राउ परिरहेका छन् तर चर्चित पक्राउमध्ये अदालतले पुर्पक्षका लागि थुनामै पठाएका चर्चित व्यक्तिमध्ये पर्छन् व्यवसायी दीपक भट्ट ।

उच्च राजनीतिक पहुँचको दुरुपयोग गर्दै अकुत आर्थिक लाभ लिएको आरोपमा उनीमाथि अभियोजन भइसकेको छ । विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न जेल चलान गरिसकेको छ ।

असार ३ गते अदालतको आदेशले दीपक जेल चलान भएको ५ दिनपछि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामै पक्राउ परेका छन् । उनी दीपकमाथिको अनुसन्धानका क्रममा जोडिएपछि पक्राउ परेका हुन् ।

जेनजी आन्दोलनपछि भएको चुनावबाट रास्वपा नेतृत्वको सरकार बनेपछि जेल पुगेका दीपक त्यसअघिका सरकार बन्दा प्रभावशाली भूमिकामा रहने गरेका थिए । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा दीपक मुख्य सूत्रधारका रूपमा मानिन्छन् । २०७५ जेठ २ गते दुवै पार्टीबिच एकताको सम्झौता हुँदा दीपक भट्ट समेत तस्वीरमा देखिएका छन् ।

दीपकले पार्टीहरू मिलाउने, सरकार फेरबदल गर्ने र मन्त्रीहरू नियुक्त गर्नेसम्मको हैसियत राख्ने गरेको चर्चा हुँदै आएको थियो । जसमध्ये दीपकका विश्वासपात्र नेता हुन् विष्णु पौडेल । दीपककै भनसुनमा विष्णुलाई अर्थमन्त्री बनाइएको स्रोतको दाबी छ । विष्णु पौडेल रक्षामन्त्री हुँदादेखि नै दीपक भट्ट निकट रहेका बताइन्छ ।

पछिल्लो समय दीपक भट्टमाथि अनुसन्धानका क्रममा विष्णु पौडेलसँग पनि ‘कनेक्सन’ देखिएपछि उनलाई पनि पक्राउ गरिएको सम्पत्ति शुद्धीकरण विभाग स्रोतले जनाएको छ । ‘विष्णु पौडेलको शंकास्पद कारोबार देखिएको छ,’ स्रोतले भन्यो । विभागले विष्णु पौडेलको घरमा समेत छापा हानेको थियो ।